‘पाँच वर्ष अगाडिसम्म सरकारी विद्यालयको शिक्षक भनेर आफूलाई चिनाउन र विद्यालयको पोशाक लाएर हिँड्न लाज लाग्थ्यो। अचेल गर्व लाग्छ।’
ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको भानोदय आधारभूत विद्यालयका शिक्षकहरूसँग कुराकानी गर्दा अधिकांशले यस्तै भन्छन्। अचेल त उनीहरूले आफ्ना सन्तानलाई यही विद्यालयमा भर्ना पनि गरेका छन्।
पाँच वर्षअगाडि यो विद्यालमा जम्मा १५ जना विद्यार्थी थिए। बन्द हुनै लागेको थियो। तर अहिले यहाँ दुई सय ५० भन्दा बढी विद्यार्थी पढ्छन्।
विद्यालयकी प्रारम्भिक बाल विकास संयोजक सदिक्षा श्रेष्ठलाई यो परिवर्तन एक मीठो सपनाजस्तो लाग्छ।
उनको सम्झनामा पाँच वर्षअगाडि विद्यालय एक खन्डहरजस्तो थियो। विद्यालयको भवन पुरानो भएर फुंग उडेको थियो। चौरमा खाल्डाखुल्डी र फोहोर अस्तव्यस्त हुन्थ्यो। वर्षाका बेला छेउको खेतको पानी आएर विद्यालयको चौर डुबान हुन्थ्यो। विद्यालय साँझ-बिहान मद्यपान, धूमपान र लागूपदार्थ सेवन गर्नेहरूको अखडा थियो।
स्कुल परिसर गाउँको डम्पिङ साइटजस्तो थियो।
ती दिनहरू सम्झिँदै उनी भन्छिन्, ‘विद्यालय स्थानीयको नजरबाट ओझेल परेको थियो। सायद कसैलाई वास्ता थिएन। कतै विकल्प नभएका अभिभावकले मात्र विद्यालयमा आफ्ना बच्चाहरू ल्याएर छाडिदिन्थे।’
यो अवस्था देखेर विद्यालयका प्रधानाध्यापक बहादुर महर्जनलाई निरीह महसुस भएको थियो। उनलाई विद्यालयको प्रधानाध्यापक बनाइएको दुई वर्ष भएको थियो। उनलाई विद्यालय बन्द गर्न मन थिएन। तर, कुनै बेला १०-१२ जना शिक्षक र सयौं विद्यार्थी भएको यस विद्यालयलाई पुनर्जीवन दिने साहस र जाँगर पनि थिएन। चार जना शिक्षकले १५ जना विद्यार्थीलाई दुइटा कक्षामा बाँडेर जेनतेन पढाइ भइरहेको थियो।
यस विद्यालयको कायापलट त्यहाँबाट सुरू भयो, जब एक स्थानीय युवा एक दिन विद्यालयमा पाइला टेक्न पुगे।
लुभू बजार छेउमा घर भएका २९ वर्षीय सगेन्द्र श्रेष्ठलाई शिक्षामा केही गर्ने हुटहुटी थियो। श्रीलंकाबाट ‘बौद्ध तथा पाली विश्ववविद्यालय’ मा बौद्ध दर्शन सिकेर आएका उनले ललितपुरकै सिद्धिमंगल माध्यमिक विद्यालयमा दुई वर्ष काम गरेका थिए। उनी काठमाडौं विश्वविद्यालयबाट गणित शिक्षामा स्नातकोत्तर गर्दै पनि थिए।
बि.सं. २०७२ साल चैतको कुरा हो। आफ्नो समुदायका शिक्षण संस्थाहरू घुम्ने क्रममा उनी एक दिन तत्कालीन भानोदय प्राथमिक विद्यालय पुगे। स्कुलको अवस्था देखेपछि छाँगाबाट खसेजस्तो भए। लुभू बजारबाट गोदावरी खोला कटेर सानागाउँको स्कुल चोकको बाटो उनी सधैं ओहोरदोहोर गर्थे। तर उनलाई थाहा थिएन, आफ्नै घर छेउको विद्यालय कस्तो छ भनेर!
दुई वर्ष शिक्षकका रूपमा काम गरेका सगेन्द्रलाई विद्यालयको व्यवस्थापन मजबुत बनाउन सकियो भने धेरै कुरा गर्न सकिन्छ जस्तो लाग्थ्यो। उनले आफ्ना केही अग्रजसँग सल्लाह गरे। विद्यालयमा अनगिन्ती सम्भावना देखेर उनले व्यवस्थापनमा सहयोग गर्ने प्रस्ताव प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति समक्ष राखे।
सबैले समर्थन जनाएपछि विद्यालयमा एउटा भेला भयो। विद्यालयका संस्थापकहरू, शिक्षकहरू, स्थानीय अगुवाहरू र स्कुललाई माया गर्ने मानिसहरू सँगै बसेर सुधारको योजना बनाए। शिक्षकहरू र उनले मात्र सबै योजना कार्यान्वयन गर्न सम्भव थिएन। उनले आफ्ना साथीहरूसँग सहयोगको अपिल गरे। शिक्षा र पत्रकारिताको अनुभव भएकी काठमान्डौं बसन्तपुरकी इभा मानन्धर पनि होस्टेमा हैंसे गर्न तयार भइन्। सगेन्द्र र इभा स्वयंसेवककै रूपमा काम गर्न तयार भए।
सुरूमा विद्यालय परिवार समुदायमा घरदैलो गर्न गयो। समुदायमा मानिसहरूसँग कुरा गर्दा उनीहरूले पत्ता लगाए कि मानिसहरूमा विद्यालयप्रति विश्वास थिएन।
मानिसहरूले उनीहरूलाई भने, ‘तपाईंहरूको विद्यालयमा हाम्रा सन्तान सुरक्षित हुन्छन् जस्तो लाग्दैन।’