Home कथा र कविता म अप्रिल फूल मनाउँदिन

म अप्रिल फूल मनाउँदिन

अप्रिल फूल
अर्थात्
अप्रिल महिनाको पहिलो तारिख
अर्थात्
मूर्ख दिवस
अर्थात्
अरूलाई मूर्ख बनाएर आफू रोमाञ्चित हुने दिन,
थाहा छैन
कसले, किन र कहिलेदेखि मनाउन थाल्यो अप्रिल फूल ?
यत्ति थाहा छ,
स्कुल पढ्दै गर्दा
अङ्ग्रेजी क्यालेन्डर हेरेर
झण्डै एक महिना अघिदेखि
अप्रिल एक तारिख कहिले आउँछ भनेर कुर्दै
क्षणिक मनोरञ्जन र रमाइलोको लागि
जालझेल र छलकपटका
अनेक तानावान बुन्दै
अरूलाई झुक्याउने बहाना खोज्दै
अप्रिल एकको बिहानैदेखि
अरूलाई
ढाँटेर, छलेर र झुटो बोलेर
गलत समाचार सुनाएर
मूर्ख बनाएको,
अप्रिल पूmल मनाएको ।

ताजा छ अझै
स्कुल पुग्नासाथ
ब्ल्याक बोर्डमा गलत सूचना लेखेर
चकलेटको खोलमा ढुङ्गा बाँडेर
एक अर्कालाई पोल लगाएर
शौचालयको ढोका थुनेर
झोला, कापी, कलम लुकाएर
जुत्ता चप्पल साटेर
कागजको पुच्छर जोडेर
कक्षा चलिरहँदा छुट्टीको जनाउ घण्टी बजाएर
यताबाट उता कुदाएको
उताबाट यता कुदाएको
ठट्टा रमाइलो गरेको
अनावश्यक अफवाह र हल्ला मच्चाएको
आफूले अरूलाई ढाँट्न सकेकोमा खुसी भएको
अरूलाई मूर्ख बनाउन खोज्दा
आफै झुक्किएर मूर्ख बनेको ।

त्यतिबेला
हिमालको हिउँ जस्तै स्वच्छ थियो मन
फूल जस्तै कोमल थियो हृदय
थिएन कतै
रिस, राग, अहङ्कार
दम्भ, अभिमान, व्यभिचार
वर्षमा एक दिन झुटो बोल्दा
छुट्टै आनन्द आउँथ्यो
मजाकमा बित्थ्यो त्यो दिन
र, फेरी एक वर्ष
झुटो नबोल्ने र गलत नसोच्ने बाचा गर्दै
समापन हुन्थ्यो अप्रिल फूलको
वर्षैभरी
सत्य उदाउँथ्यो हरेक बिहान
सुन्दर फूल फक्रिन्थ्यो हरेक दिन ।

अहिले
कलुषित बनेको छ मान्छेको मनोविज्ञान,

अरूको खुसीलाई आफ्नो बोझ ठानेर
आफ्नो रहरलाई अरूको स्वार्थ मानेर
कल्पना निफन्छ वर्षैभरी
कुण्ठा बोक्छ मनभरी
अरूहरूको अप्ठ्यारोमा आनन्दको अनुभूति गर्छ
अरूलाई फुटाएर आफू सिङ्गो भएको घमण्ड गर्छ
भ्रमको अक्षरले
आश्वासनको रङ्गिन कथा लेखेर
उन्मुक्तिको पुराण सुनाउँछ
नक्कली आवरणले
स्वाभिमान माथि धावा बोलेर
पराक्रमको पाठ पढाउँछ
कुण्ठित विचारले
अस्तित्व माथि आक्रमण गरेर
स्वाधीनताको घण्टी बजाउँछ ।

हिजो आज
हरेक मान्छेको मनभित्र
कुटिलताका पासा फ्याँकिएका छन्
शासनको रङ्गमञ्चमा
चलिरहेछ बेमौसमी महाभारत
मान्छेको बस्तीमा
झोक्राइरहेछन्
छटपटाई रहेछन्
हारगुहार माग्दैछन्
अट्टहास छोडिरहेछन्
मान्छे नामका पाखण्डीहरू
धुमिल हुँदैछ
नयाँ बिहानीको आजाद सपना
सुमधुर साँझको उन्मुक्त परिवेश
घामले आफ्नो उज्यालो चिन्दैन
जुनले आफ्नो शीतलता देख्दैन ।

म देखिरहेछु
हरेक दिन यसरी नै ढाँटिएका छौँ हामी
निरन्तर चलिरहेछ कपटको शृङ्खला
मौलाउँदो छ झुटको खेती
चुलिँदो छ स्वार्थको साम्राज्य
धमिलिँदो छ इमानको इन्द्रेनी
फिँजिँदो छ बेइमानीको बिस्कुन
खस्किँदो छ निष्ठाको राजनीति
दिन रात, महिना, वर्ष
बितिरहेछ यसैगरी ।

सधैँ सधैँ
छलछाम र दाउपेचले
दुष्ट्याइँ र जालझेलले
विदीर्ण बनेको वास्तविकता सामु
एक दिनको अप्रिल फूल
अर्थहीन हुँदो रहेछ
के मजा लिनु अरूलाई मूर्ख बनाएर !
के खुसी हुनु अरूलाई झुक्याएर !
सुन
कान थापेर सुन
मेरो हुङ्कार छ
जबसम्म
स्वार्थको शूली चढेको सत्य बोल्दैन
मूल्यहीन बन्दै गएको इमान उठ्दैन
र, प्रत्येक सूर्योदय सँगै
असत्यको अँध्यारो शीत बनेर झर्दैन
म अप्रिल फूल मनाउँदिन
म कसैलाई मूर्ख बनाउँदिन ।

सङ्खुवासभा, खाँदबारी
हाल: लोकन्थली, भक्तपुर ।

धेरै पढिएको
सम्बन्धित शीर्षकहरु