Home खेल समाचार सी डिभिजनमा छनोट भएको दुई वर्षमै ए डिभिजनमा

सी डिभिजनमा छनोट भएको दुई वर्षमै ए डिभिजनमा

चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ए डिभिजन लिगमा बढुवा भएको छ। मंगलबार सहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी क्लबलाई ५-१ गोलले पराजित गर्दै चर्च ब्वाइज ए डिभिजन लिगमा उक्लिएको हो।

अन्तिम खेलअघि शीर्ष डिभिजनमा स्थान बनाउने क्रममा चर्च ब्वाइजले १२ खेलबाट २६ अंक जोड्यो। च्याम्पियन समेत बनेको चर्च ब्वाइजले १२ मध्ये ८ खेलमा जित निकाल्यो। यस्तै समान २-२ खेलमा बराबरी तथा हार बेहोर्‍यो।

दोस्रो स्थानको रानीपोखरी कर्नर टिमको दुई खेल बाँकी रहदा १८ अंक र तेस्रो स्थानको सरस्वती युवा क्लबको १७ अंक छ। बी डिभिजनबाट दुई टिम ए डिभिजनमा बढुवा हुने प्रावधानअनुसार अब एक टिम ए डिभिजनमा बढुवा हुन बाँकी छ।

चर्च ब्वाइजले २०६० साल ताका फुटबल खेल्न सुरू गरेको थियो। उसले पूर्वका विभिन्न प्रतियोगितामा समेत भाग लिएको थियो।

२०६६ सालमा भने क्लबलाई औपचारिक रूपमा दर्ता गरियो। सुरूमा मोरङ उर्लाबारीको क्लबको रूपमा चिनिएको चर्च ब्वाइजको दर्ता भने ललितपुर जिल्ला खेलकुद विकास समितिमा भएको छ। कार्यालय ललितपुरकै बालकुमारी राखिएको छ।

औपचारिक रूपमा क्लब दर्ता गरेपछि चर्च ब्वाइजले सी डिभिजन छनोट खेल्न थालेको क्लबका सचिव अरूण श्रेष्ठ बताउँछन्।

सुरूमा उनी पनि क्लबका खेलाडी थिए। तर खुट्टाले साथ नदिएपछि उनी व्यवस्थापनमा लागे।

‘हामीले सुरूमा सी डिभिजनको छनोट खेल्न थाल्यौं। तर पनि धेरै वर्षसम्म सफल हुन सकेनौं,’ श्रेष्ठले भने, ‘लामो प्रयासपछि हामी बल्ल २०७६ मा सी डिभिजनको छनोट पार्दै सी डिभिजन क्लब बन्न सफल भयौं। त्यसपछि २०७७ मा हामी सी डिभिजन च्याम्पियन हुँदै बी डिभिजनमा पुग्यौं।’

यो सिजन एक खेल अगावै बी डिभिजन च्याम्पियन भएर शीर्ष डिभिजनमा उक्लदा उनको खुसी सिमाना छैन।

‘क्लब ए डिभिजनमा उक्लिएको क्षण शब्दमा व्यक्त गर्न सक्दिन,’ उनले भने।

छोटो समयमै क्लबले ए डिभिजनमा स्थान बनाउनुको मुख्य कारण हो- क्लबमा एक परिवार जस्तै भावना हुनु।

‘क्लबमा जति पनि खेलाडी छन्। हाम्रै गाउँ ठाउँका छन्, सबै आफन्त जस्तै छन्। सबैले एउटा परिवारको भावनाले खेल्दा सफल भएका हौं,’ उनले भने।

यो सिजन प्रशिक्षकको भूमिकामा राष्ट्रिय टिमका खेलाडी विक्रम लामा रहदा क्लबलाई थप बल पुग्यो।

सुरुवाती वर्षमा क्लबले सी डिभिजन छनोट खेल्दा ए डिभिजन खेलिसकेका खेलाडीलाई समेत भित्र्याएको थियो। साथै स्थानीय (उर्लाबारी) खेलाडीले क्लबबाट निरन्तर खेल्दा सफलता मिल्दै गएको सचिव श्रेष्ठ बताउँछन्।

सी डिभिजन छनोट र सी डिभिजन लिग खेल्दा क्लबको आर्थिक पक्ष सहयोग रकमले चलेको थियो।

‘साथी-भाइ र आफन्तको सहयोग लिएर हामीले सी डिभिजनको च्याम्पियनको यात्रा गर्न सफल भएका थियौं,’ उनले भने, ‘बी डिभिजनका लागि भने प्रायोजक पाउँदा अलि सहज भयो।’

अब ए डिभिजनमा उक्लिएपछि क्लबमा थप लगानी चाहिने सचिव श्रेष्ठले बुझेका छन्।

‘ए डिभिजन खेल्न सजिलो हुँदैन भन्ने हामीलाई थाहा छ। त्यसैले अप्ठ्यारलाई पार लगाउनका लागि छिट्टै बैठक बसेर योजना बनाउँछौं, सबैको सरसल्लाह लिएर अगाडि बढ्छौं’ उनले भने।

चर्च ब्वाइज लगातार एक तह बढुवा हुँदै ए डिभिजनमा पुग्न सफल नेपालको चौथो क्लब हो। यसअघि हिमालयन शेर्पा, मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबले पनि लगातार एक श्रेणी बढुवा भएर ए डिभिजनसम्मको यात्रा गरेका थिए।

धेरै पढिएको
सम्बन्धित शीर्षकहरु