Home बाल शिक्षा नीतिकथा : माटोको घडा

नीतिकथा : माटोको घडा

धेरै पहिलेको कुरा हो । एक सज्जनको घरमा दुईवटा घडा थिए, एउटा माटोको थियो, अर्को पित्तलको । सज्जन पानी खानका लागि माटोको घडा र घरायसी कामका लागि पित्तलको घडा प्रयोग गर्थे । पित्तलको घडा बलियो थियो, फुट्दैनथ्यो । त्यस्तै परे कुच्चिन्थ्यो तैपनि फुट्न जानेको थिएन तर माटाको घडा नाजुकथ्यो । सानै चोट पनि सहन सक्दैनथ्यो । अलिकति ठक्कर लाग्दासाथ यति बढी जर्जर हुन्थ्यो कि सके त दुई टुक्रा हुन्थ्यो नभए पनि चर्कन्थ्यो । तैपनि पानी मीठो हुने भएकाले सज्जनले उसलाई पनि समान हैसियत दिएर पित्तलको घडा सँगै राखेका थिए तर पित्तलको घडालाई भने यो कुरा मन परेको थिएन । ऊ आफूलाई ठूलो र माटोको घडालाई सानो ठान्थ्यो र सकेसम्म सँगै बस्नु नपरे हुन्थ्यो भन्थ्यो । सायद त्यसै भएर होला उसलाई बेलाबेला नाजुक, सहनशक्ति नभएको, रुखो, एकलकाटे भनेर होच्याउने गथ्र्यो तर माटाको घडा बोल्दैनथ्यो । जे भने पनि कि चुपचाप सहन्थ्यो कि नसुनेजस्तो गरी टारिदिन्थ्यो ।
यद्यपि उनीहरू आ–आफ्ना स्थानमा उत्तिकै महत्वका थिए । पित्तलले गर्ने काम पित्तलले गथ्र्यो । माटोले गर्ने काम माटोले । मजबूतीको क्षेत्रमा पित्तल अघि थियो गुणस्तरको क्षेत्रमा माटो अघि । दुवैले आ–आफ्नो क्षेत्रमा सज्जनलाई उत्तिकै सघाउँदै आएका थिए । न पित्तलले गर्ने काम माटोले गर्न सकेको थियो न माटोले गर्ने काम पित्तलले गर्न सकेको थियो । यस्तो अवस्थामा कसलाई ठूलो भन्ने कसलाई सानो मान्ने । माटोको घडाको स्वरूप नाजुक भए पनि पानी मीठो बनाउँथ्यो । पित्तलको घडा बलियो त थियो तर मीठो पानी पनि नमीठो बनाउँथ्यो तर पित्तलको घडा यति सामान्य कुरामा पनि ध्यान दिँदैनथ्यो र आपूmलाई ठूलो ठानी र अर्कोलाई कमजोर भन्ने मान्यता राख्थ्यो ।

समय बित्दै गयो । पित्तलको घडाको माटोको घडाप्रतिको छेडकानी पनि चली नै रह्यो । लागेको बानी भन्छन् किन जान्थ्यो र । मौका मिल्नासाथ ऊ आफ्नो स्वभावमा देखाउन थालिहाल्थ्यो । हुन त एकाध पटक माटोको घडाले सम्झाउने प्रयास नगरेको होइन । तैपनि पित्तलको घडा सुन्नै चाँहदैनथ्यो । यस्तो अवस्थामा ऊ गरोस् पनि के । पित्तलको घडालाई भन्दा सुन्नेकान लगान्नथ्यो मालिकलाई भनौँ भाषै बुझ्दैनथे । यत्तिकैमा एक दिन नदीमा बाढी आयो । बाढी नदीको सतह नाघेर बस्तीमा पस्यो, जुन बस्तीमा सज्जनको घर थियो । बाढी बाढी नै हो ठूलो, सानो, राम्रो, नराम्रो, मजबूत, नाजुक किन बन्थ्यो र । बस्तीका घर र सामान एकएक गरी बगाउन थाल्यो, जसमा ती घडा पनि परेका थिए ।
आफूलाई जति नै मजबूत ठानेको भए पनि बाढीले बगाएपछि पित्तलको घडा आत्तियो । तैपनि आफ्नो स्वभाव बदल्नतिर लागेन र पहिलेकै पारामा प्रस्तुत हुँदै भन्योे–
‘भाइ ! नदीमा पानी धेरै छ । वारपार देखिएको छैन । म त मजबूत छु जसरी पनि पारी पुग्ने नै छु तर तिमी के गर्छौँ ? बाढीले पक्कै माया गर्ने छैन । तिम्रो स्वभाव भने सानै पनि ढक्क सहन सक्ने खालको छैन । त्यसैले मलाई आफ्नोभन्दा तिम्रो चिन्ता खाइरहेको छ । यस्तै होला भनेर समयमै सम्झाउन खोजेको थिएँ तर सुनेनौ । उल्टै होच्याउन खोज्यो भनेर चित्त दुखायौ । अझै पनि समय छ । मान्छौ भने आऊ मेरो साथमा । पार लगाउने जिम्मा मेरो भो । होइन अझै पनि चेत्दैनौ भने त के लाग्यो र । भीरबाट लड्ने गाईलाई रामराम भन्नुबाहेक के नै गर्न सकिन्छ र ।’

उसको कुरा सुनेर माटोको घडालाई दया लाग्यो । एक मनले त मुखभरीको जबाफ दिउँ कि जस्तो पनि नलागेको होइन तर अर्को मनले उसले जे गरे पनि आपूmले त्यस्तो गर्न हुन्न भन्यो र विनम्रतापूर्वक उत्तर दियो–
‘भैगो मित्र ! मलाई मेरै हालतमा छाडिदेऊ । भगवानले चाहेछन् भने पारी पुगौँला होइन भने जस्तो पर्ला त्यस्तै टर्ला । बरू मेरो भनाइ लाग्छ भने आफ्नो बारेमा ध्यान देऊ । के थाहा कसको अवस्था कति बेला के हुन्छ । यसै पनि तिमी आफैँ पनि विपतमा छौ । मलाई साथ दिन खोज्दा तिमीलाई थप गाह्रो पर्न सक्छ । विपतमा परेकालाई तार्न खोज्नु राम्रो हो, खोज्नुपर्छ तर त्योभन्दा पहिले तार्ने मानिसको खुट्टा दह्रो हुनुपर्छ । होइन भने खोक्रो आदर्श बाहेक केही हुने छैन, जसले परेको बेला केही गर्न सक्दैन । अरूलाई उतार्न खोज्दा आफैँ डुब्यौ भने के गर्छौ ?’

यति भनेर माटोको घडा छुट्टियो र आफ्नै तालमा बग्न थाल्यो । पित्तलको घडा आफ्नै तालमा बगिरह्यो । बाढी बढ्दै गयो । माटोको घडाले जेनतेन किनारा भेट्यो, पटक पटक डुब्दै र उत्रँदै गरी । कारण ऊ हल्का थियो । घडामा पानी भरिए पनि डुबाउन सक्दैनथ्यो तर पित्तलको घडा गह्रुँगो थियो । पानी भरिँदै आएपछि उसले आफूलाई बचाउन सकेन र नदीमा डुबेर वेपत्ता भयो ।

धेरै पढिएको
सम्बन्धित शीर्षकहरु