Home बाल शिक्षा एमवीवीएस अध्ययन गर्न १० लाख छात्रवृत्ति

एमवीवीएस अध्ययन गर्न १० लाख छात्रवृत्ति

मार्मा गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमवीबीएस  अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकाले शुक्रबार ल्याएको आगामी आव २०७९/८० को नीति तथा कार्यक्रममा वार्षिक एक जनालाई रु १० लाख छात्रवृत्ति स्वरुप रकम उपलब्ध गराउने भएको हो ।

गाउँपालिका अध्यक्ष जमनसिंह धामीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा गाउँपालिकामा स्थायी घर भएको, गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेको एक उत्कृष्ट विद्यार्थीलाई एमवीबीएसमा छात्रवृत्ति उपलब्ध गराइने छ ।

गाउँपालिकाले स्तरोन्नति भएर १० शैय्याको अस्पतालको रुपमा स्तरवृद्धि भएको लटिनाथ स्वास्थ्य चौकीमा अढाई वर्षभित्र भवन निर्माण गर्ने भएको छ । गाउँपालिकाभित्रका स्वास्थ्य चौकी भवन दुई वर्षभित्र निर्माण सम्पन्न हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।

अस्पतालको प्रयोगशाला, एक्सरे, अल्ट्रासाउण्ड, डेन्टललगायत सुविधा सुदृढीकरण गर्दै लग्ने उल्लेख छ । हरेक गाउँमा विशेषज्ञसहितको घुम्ती सेवा सञ्चालन गरिने गाउँपालिकाले नीति लिएको छ ।

एमवीवीएस र बिई पढ्न ५० प्रतिशत खर्च व्यहोर्ने

दुहु गाउँपालिकाले सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरी प्रवेशिका परीक्षामा नाम निकाल्ने एक÷एक विद्यार्थीलाई एमवीवीएस र बिई अध्ययनका लागि ५० प्रतिशत रकम उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थीलाई मापदण्ड बनाएर एमवीवीएस र बिई अध्ययनमा खर्च उपलब्ध गराउने भएको हो । एक÷एक विद्यार्थीको अध्ययनका लागि आधा रकम गाउँपालिकाले उपलब्ध गराउने गरी नीति कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर बडालले बताए ।

गाउँपालिकाले विद्यार्थीबाट कुनै पनि प्रकारको शुल्क नलिने नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाका हरेक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीबाट कुनै पनि प्रकारको शुल्क लिन नपाइने भएको हो । विद्यालयले विभिन्न शुल्कका नाममा विद्यार्थीबाट पैसा उठाउने गरेको भन्दै गाउँपालिकाले विद्यार्थीबाट लिइने शुल्क कटौती गर्ने भएको हो । आगामी आव २०७९/८० को नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष बडालले शुल्क पूर्ण रुपमा बन्द गरिएको उल्लेख गरे ।

पालिकाभित्रका सामुदायिक विद्यालयको आवश्यकता र सम्भाव्यताका आधारमा भौतिक पूर्वाधार निर्माणको काम गरिने उल्लेख गरिएको छ । पालिकाभित्र एक वडा एक नमूना विद्यालय कार्यक्रम अघि बढाइने भएको छ । युवाको स्वास्थ्यलाई मध्यनजर गर्दै पालिकास्तरीय सुविधा सम्पन्न रङ्गशाला निर्माण प्रक्रिया अगाडि बढाइने नीति कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाबाट तलबभत्ता उपलब्ध गराउने गरी राखिएका शिक्षकको दरबन्दी पुनः निर्धारण गरिनेछ । पालिका भरीका सामुदायिक विद्यालयमा ई–हाजिरी जडान तथा शिक्षकलाई पुर्नताजगी तालिम दिइने छ ।

कक्षा ४ देखि ७ र ९ को परीक्षा पालिकास्तरीय गरी प्रश्नपत्र तथा उत्तरपुस्तिका जाँचसम्बन्धी सम्पूर्ण काम पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामार्फत गरिनेछ । विद्यार्थीको सङ्ख्या हेरी मापदण्डअनुसार विद्यालय मर्जको नीति अवलम्बन गर्दै आयोगका तयारी कक्षा सञ्चालन गरिनेछ । विद्यालय कर्मचारी सामुदायिक सिकाइ केन्द्रका कर्मचारी र बाल विकास सहजकर्ताहरुको तलब मासिक रु दुई हजारले बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

धेरै पढिएको
सम्बन्धित शीर्षकहरु